‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १० गते ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले अमेरिकी विकास नियोग ( युएसएआइडी) र सुआहाराको सहकार्यमा आईतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गर्नुभएको हो । उक्त मोवाइल एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘ मेरो पोषण साथी ’ मोबाइल एप उपयोगी हुने बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’ मन्त्री बस्नेतले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्वपूर्ण र उपयोगी जानकारी पु¥याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताउनुभयो ।
कार्यक्रममा अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलालाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताउनुभयो ।

ताजा समाचार

Related Articles