खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौँडामा तीन दिने प्रदेश युवा सम्मेलन २०८२ आइतबारबाट सुरु भएको छ । 
सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवालाई नीति निर्माण र नेतृत्व तहमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले युवाको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आवश्यकभएको भन्दै शासकीय संरचनाको निर्णायक स्थानमा युवालाई स्थापित गर्न सकेमा नागरिक र देशको विकासको आकांक्षा पुरा गर्न सहयोग पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवाको संशक्तिकरणको कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै युवाको विदेश पलायन रोक्नु हाम्रो लागि चुनौतीभएको बताउनुभयो ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा लक्षित कार्यक्रम आवश्यकभएको बताउनुभयो ।
यही वैशाख ३० गतेसम्म चल्ने सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग छलफल परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले बताउनुभयो ।




