हेटौँडा, साउन २५ गते । सहिद स्मारकपरिसरमा विभिन्न जातजाति र समुदायको भाषा, वेशभूषा तथा रहनसहनको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको जातीय सङ्ग्रहालय उद्घाटन गरिएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा सहिद स्मारकपरिसरमा निर्मित जातीय सङ्ग्रहालय आइतबार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं सहिद स्मारक विकास समिति, हेटौँडाका अध्यक्ष डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।

जातीय सङ्ग्रहालय सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग, बागमती प्रदेश सरकार र सहिद स्मारक विकास समिति, हेटौँडाको संयुक्त लगानीमा डेढ करोड रुपियाँको लागतमा निर्माण गरिएको हो । सङ्ग्रहालयमा मकवानपुरमा बसोबास गर्ने २५ भन्दा बढी जातजातिको संस्कृति, खानपान, भाषा, वेशभूषा र रहनसहन झल्कने संरचना तथा अभिलेख राख्ने योजना छ ।

सहिद स्मारक विकास समिति, हेटौँडाका प्रमुख रामचन्द्र न्यौपानेले पहिलो चरणमा १४ जातजातिका पहिरन र गरगहनासहितका स्वरूप (डमी) राखिएको र यसलाई क्रमशः थप गर्दै लैजाने बताउनुभयो । उहाँले जातीय सङ्ग्रहालयलाई अध्ययन केन्द्रका रूपमा समेत विकास गर्न जातजाति तथा समुदायको ऐतिहासिक पक्षसमेत समेट्ने योजना रहेको जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा जातीय पहिचान झल्कने पहिरनसहित गुरुङ, ब्राह्मण, थारू, वनकरिया, चेपाङ, तामाङ, मगरलगायत १४ जातजातिका महिला तथा पुरुषका डमी राखिएका छन् । सङ्ग्रहालय उद्घाटन गर्दै अध्यक्ष पौडेलले सहिद स्मारकपरिसरमा अवलोकनका लागि आउने पर्यटकका लागि जातीय सङ्ग्रहालय थप आकर्षणको केन्द्र बन्ने बताउनुभयो । उहाँले सङ्ग्रहालय विभिन्न जातजातिको पहिचानको थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।सङ्ग्रहालय अवलोकन गर्ने स्थल मात्र नभई अध्ययन केन्द्रका रूपमा समेत विकास गरिने बताउँदै उहाँले यसले विभिन्न जातजाति तथा समुदायको पहिचान स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उद्घाटनअघि मकवानपुरमा रहेका विभिन्न आदिवासी जनजाति तथा जातीय संस्थाले झाँकी र पहिरनसहित ¥याली निकालेका थिए ।




