हेटौँडा, वैशाख २९ गते ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व परिवेशमा भईरहेका अशान्ति, हतियार होड, द्वन्द, युद्ध र युद्धउन्मुख परिदृश्यले बुद्धमार्गको अपरिहार्यताको बोध गराएको बताउनुभएको छ ।
बुद्ध जयन्तीको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनुभएको हो ।
देवकोटाले सन्देशमा भन्नुभएको छ, “भगवान बुद्धको आदर्शले सबैलाई शान्ति, सत्य, प्रेम, संयम र सदाचारको बाटोमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्“ ।
शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रवर्तक, ज्ञान र करुणाका स्रोत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस पवित्र दिन बुद्ध जयन्ती भएको प्रदेश देवकोटाको शुभकामना सन्देशमा उल्लेख छ ।
शान्तिका दूत भगवान गौतम बुद्धको जन्म नेपालमा हुनु सबैको लागि गौरबको विषयभएको उहाँले बताउनुभएको छ ।
वैशाख पूर्णिमाको दिन चैत्य, गुम्बा र बिहारहरूमा बिशेष प्रार्थना, ध्यान, पूजाअर्चना र प्रवचनलगायतका विविध कार्यक्रमहरू गरी भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । आजको दिनलाई विश्व शान्तिको प्रतीक बोकेको दिनको रूपमा लिइन्छ । बुद्धले दिनुभएको अहिंसा, करुणा र समता जस्ता अमूल्य सन्देश मानव जगतलाई सुमार्गमा डो¥याउने आधारशिला भएको उहाँले सन्देशमा भन्नुभएको छ ।
“बुद्धको शिक्षालाई आत्मसात् गर्दै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा एकजुट हुने दृढ संकल्प हामी सबैमा जागृत होस् भन्ने कामना गर्दछु“ देवकोटाले सन्देशमा भन्नुभएको छ ।
यसैगरी प्रदेश प्रमुख देवकोटाले सोमबार नै सोमबार परेको उभौली पर्वको अवसरमा शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेशवासीलगायत सबैमा समृद्धिको कामना गर्नु भएको छ ।
“प्रकृतिका पुजारी किराँत समुदाय अन्तर्गतका सुनुवार, राई, लिम्बु र याक्खा जातिको पवित्र पर्व उभौलीको पावन अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली विशेष गरी किरात समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र सम्मृद्विको हार्दिक शुभकामना व्यक्त गर्दछु“ उहाँले भन्नुभएको छ ।
कृषिजन्य उत्पादन राम्रो होस्, दैवीप्रकोप र विपत्तिहरू नआउन्, सबैमा सुस्वास्थ्य, सुख र शान्ति होस् भनी पूजा गरेर उभौली पर्व मनाइन्छ ।
“उभौली पर्वले केवल मौसमको परिवर्तन र उभो अर्थात् लेकतिरको यात्रालाई मात्र संकेत गर्दैन, यसले पुर्खाप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको गहिरो सन्देश पनि बोकेको हुन्छ“ उहाँले सन्देशमा भन्नुभएको छ ।
यो पर्व किरात समुदायको सांस्कृतिक पहिचान, मेलमिलाप, चाडपर्वप्रतिको निष्ठा र सहअस्तित्वको दर्शन झल्काउने महत्वपूर्ण परम्परा हो । यो पर्व किराँत समुदायले आफन्त भेटघाट, खानपान, शुभकामना आदानप्रदान तथा नाचगान गरेर हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
विविधता बोकेका सम्पूर्ण जातजाति र समुदायका हाम्रा मौलिक चाडपर्वहरूले समाजमा प्रेम, मेलमिलाप, आपसी सद्भाव, सहिष्णुता र विविधतामा एकताको भावना बलियो बनाउने कार्य गरेका छन् । देवकोटाले मौलिक पर्व र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।




