खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा तीनलाई सम्मान गर्नेभएको छ । संघले चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गर्ने भएको हो ।
नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने संघका अध्यक्ष कपिल खड्काले जानकारी दिनुभयो । यस्तै मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागो र मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गर्ने संघले निर्णय गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
दिवसकै अवसरमा पहिलो पटक चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी बालकलाकार शुपला सापकोटालाई सम्मान गरिने अध्यक्ष खड्काले बताउनुभयो । हरेक वर्ष जेष्ठ ७ गते संघको स्थापना भएकोले उक्त दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ ।
