बागमती प्रदेशमा आयोजना बैङ्क कार्यान्वयनको चरणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते ।
बागमती प्रदेशमा लामो समयको प्रयासपछि प्रदेश सरकारले आयोजना बैङ्कको अवधारणालाई कार्यान्वयनमा लैजाने प्रक्रिया सुरु गरेको छ ।
आयोजना बैङ्कको अवधारणा कार्यान्वयनको क्रममा सञ्चालनका लागि मन्त्रालयहरुलाई अभिमुखीकरण र सिस्टम हस्तान्तरण गर्दै आयोजना बैङ्कमा योजना प्रविष्ट गर्ने कार्य अघि बढाएको हो । प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेशले प्रदेशका १४ मन्त्रालयका महाशाखा र योजना शाखाका कर्मचारीहरुलाई अभिमुखीकरण र सिस्टम हस्तान्तरण गरेको आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले खासकुरालाई जानकारी दिनुभयो ।
प्रदेशका विभिन्न मन्त्रालयका महाशाखा प्रमुख र योजना शाखाका कर्मचारीलाई आयोजना बैङ्कको सञ्चालन तथा व्यवस्थापन तथा योजना प्रविष्ट गर्ने प्रक्रिया, योजनाको सपोर्टिङ डकुमेन्टको व्यवस्थापन बारेमा आयोगले जानकारी समेत गराईसकेको छ ।
आयोजना बैङ्कको औचित्य र सोको कार्य सञ्चालन, योजना प्रविष्टीकरण विधि, प्राथमिकीकरण सम्बन्धमा प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुलाई जानकारी गराइएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नेपालले बताउनुभयो ।
आयोगका अध्यक्षसमेत रहनुभएका बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्षको बजेटमा नै अनुभूति हुने आयोजना बैंक कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदै आउनुभएको छ ।
बागमती प्रदेश सभाका सदस्यहरुबाट समेत आयोजना बैंक कार्यान्वयनमा ल्याउन सुझाएको भन्दै आयोगका उपाध्यक्ष नेपालले आयोजना बैंकका बारेमा आगामी आवमा प्रदेशभरका ११९ वटै स्थानीय तहलाई अभिमुखीकरण गर्ने योजना रहेको सुनाउनुभयो ।

ताजा समाचार

Related Articles