खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते ।
मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हेटौँडामा आइतबारबाट सुरु हुँदैछ ।
हेटौँडा उपमहानगरपालिकाको प्रमुख सहयोग एवं केशबलाल श्रेस्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुनेभएको हो ।
प्रतियोगितामा मकवानपुरका हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया, बागमती, मकवानपुरगढी, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका गरी सात वटा पालिकाको सहभागिता रहेको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता अन्तर्गत आइतबार चार वटा खेल र सोमबार पाँच वटा खेल हुनेभएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरमा प्रतियोगिताको सेमिफाइनल र फाइनल मंगलबार हुने छ ।
