राजेश्वर नेपाली: निभ्यो क्रान्तिको दियो

लोकप्रिय

जनकपुरधाम, भदौ १२ गते । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको आज अन्त्यष्टि गरिएको छ ।     

हिजो बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएका नेपालीको शव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित निवासबाट निकाली नगरदर्शनपश्चात नजिकैको दूधमति नदीमा अन्त्यष्टि गरिएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।     

 निवासस्थान बेला गाउँबाट जनपुरधामको जिरोमाइल, रामानन्द चौक, जानकी मन्दिर, जनकचौक, रामचौक, पत्रकार महासङ्घ, मुरली चौक हुँदै निवास छेउ दूधमती नदी पुल किनारमा अन्त्येष्टि गरिएको थियो । उहाँलाई श्रद्धाञ्जली दिन यहाँ लब्ध प्रतिष्ठित व्यक्तिहरु निवास पुग्नुभएको थियो भने घाटमा प्रदेशका मुख्यन्त्री सरोजकुमार यादवलगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।     

 प्रोस्टेड क्यान्सरबाट ग्रस्त नेपाली विगत डेढ वर्षदेखि थला पर्नुभएको थियो । त्यसअघि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उहाँको उपचार गरिएको थियो । विसं २०२० ।२१ तिर राष्ट्रिय समाचार समिति (रासस) को धनुषा जिल्ला संवाददाता र पछि विभिन्न पत्रपत्रिकामा काम गर्नुभएका नेपालीको अगुवाइमा विसं २०४० देखि लोकमत साप्ताहिक पत्रिका प्रकाशित भइरहेको छ ।     

स्व नेपालीको सङ्घर्ष     

 राजेश्वर साह (नेपाली) को जन्म जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणिदेवी साहबाट विसं २००२ भदौ १९ गते भएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । वरिष्ठ पत्रकार नेपाली विसं २०१८ देखि निरन्तर पत्रकारिताको साधनामा हुनुहुन्थ्यो ।     

 राणाविरोधी आन्दोलन, मुक्तिबाहिनी सेनाको हुलाकी, विसं २००७ का स्वतन्त्रता सेनानी बुबा स्व रामदुलार साहको योगदान र प्रभावबाट प्रजातन्त्रका लागि सङ्घर्षमा होमिनुभएका नेपालीले विसं २०१८ कात्तिकदेखि पत्रकारिता, साहित्य र समाजसेवाबाट आफ्नो कर्म सुरु गर्नुभयो ।     

 विश्वमा क्षेत्रीयतावाद र जातिवादको जगजगी रहेको बेला शोषित, पीडित, उपेक्षित, असहाय र आवाजविहीनको आवाज उजागर गर्दै राज्यलाई ध्यानाकर्षण गराउने, कलमको माध्यमबाट सिङ्गोे नेपाल र मधेसलाई मुखरित गरिरहने उहाँलाई प्रेस स्वतन्त्रता सेनानी, एक कट्टर राष्ट्रवादी तर राज्यसत्ताको स्थायी ‘बागी’, परिष्कृत साहित्यकार आदि उपमा दिने गरिन्छ ।     

 धोतीकुर्ता, मधेसमा बोलिने हिन्दी भाषा, भारतीय सीमासँग जोडिएको भूगोलका कारण संस्थापन पक्षले सधैँ सौतेलो व्यवहार देखाउने गरेकाले नेपाली त्यसैका विरुद्ध शब्द र कलममार्फत लाग्नुभयो । ‘मधेसवादी त हुँ नै तर अखण्ड नेपालवादी पनि हुँ’ भनेर समानता र सहअस्तित्वको कुरा गर्ने नेपालीको लेखनीबाट तत्कालीन राज्यले असुरक्षित महसुस गरी पटक पटक मुख थुन्ने प्रयास पनि ग¥यो । नेपाली थलामा परेपछि भेटघाटमा गएका रासस प्रतिनिधिसँग उहाँले भन्नुभएको थियो, “म अहिंसावादी, गान्धीवादी, त्यसैले कहिल्यै बम र बन्दुकमा भरोसा रहेन तर राज्यले मलाई हिंस्रक मान्ने, मेरा विचार, अभिव्यक्ति र लेखनमा हिंसा देख्ने । त्यसैले त होला थुनेको, पटक पटक थुनेको १”     

 उहाँ समाचार, विचार र साहित्य लेखेकै कारण पहिलोपटक २०२१ जेठ २७ गते र संविधान लेखनका लागि भएका आन्दोलनसम्म पटकपटक गरी तीनपटक जेल र ३९ पटक प्रहरी हिरासतमा पर्नुभयो । एक कालखण्ड त आफ्नो लेख रचना प्रकाशित भएको पत्रिका नै बन्द गर्ने र अरूले लेखे पनि यसैले लेखेको होला भनेर प्रहरी प्रशासनले डराउने, धम्क्याउने गरेको उहाँ गुनासो गर्नुहुन्थ्यो । “परिवर्तन, लोकतन्त्र र समानताका पक्षमा लेखेका कारण मलाई असुरक्षा त छँदै थियो, मैले लेखेकै कारण १० वर्षमा आठपटक पत्रिका बन्द गर्ने काम पनि भयो”, उहाँले रासससँग भन्नुभएको थियो ।     

‘नेपाली भन्नुहुन्थ्यो’     

“नेपाल मधेसी, पहाडीलगायत सबैको देश भएकाले यसको विकासमा पनि सबैको योगदान हुनुपर्छ । देश नेता र सांसदले मात्रै बनाउन सक्दैनन्, त्यसैले सबैको योगदान हुनुपर्छ । परिवर्तनको संस्थागत विकास कुराले मात्रै हुँदैन, काम गरेपछि मात्रै हुन्छ”, नेपालीको प्रष्ट धारणा थियो ।     

 उहाँ देश एउटा भए पनि पहिचान, आवश्यकता र संवेदना फरकफरक छन्, त्यसको समान विकास र प्रतिनिधित्व हुनुपर्छ भन्दै आउनुभएको थियो । “कतिपय सन्दर्भमा सबैलाई समेट्नुपर्छ नत्र बाहुनको मात्रै देश हुन्छ भनेको छु”, उहाँले भन्नुभएको थियो, “र, हजारौँ वीर शहीदहरुका बलिदानले गणतन्त्र र सङ्घीयता आएको छ । अब यसलाई संस्थागत गर्न पनि सबै मिल्नुपर्छ । अनि मात्रै सफल भइन्छ ।”     

 करिब डेढ वर्ष अरुकै सहारामा बाँच्नुभएका नेपाली मृत्य शैय्याबाटै दलहरुमा गणतन्त्र र सङ्घीयताअनुसार आचरण विकास हुँदै जानुपर्नेमा उल्टै बेमेल बढेको देखेर आफूजस्ता परिवर्तन पक्षधरलाई चिन्तित तुल्याएको बताउनुहुन्थ्यो । “संविधान आएको छ, अब नागरिकमा आशा जगाउँदै, त्यसलाई उत्पादनसँग जोड्ने नेतृत्वको खाँचो छ”, नेपालीको मत थियो, “हाम्रो सम्भावना कृषि नै हो, तर मल कारखाना बनाउन, देशबाहिर पलायन हुने युवा जनशक्तिलाई रोक्न ध्यान गएको छैन । त्यसैले अब कृषि क्रान्तिको आवश्यकता छ ।”     

केही सपना अधुरै रहे     

 नेपालीले आफ्नो जीवनकालमा सके जति योगदान गर्नुभयो । सञ्चारमाध्यम र विभिन्न २८ वटा साहित्यिक कृतिमार्फत पर्याप्त बोल्नुभयो तर थला परेपछि पनि लेख्ने र बोल्ने रहर उहाँमा बाँकी नै थियो । अप्रकाशित कृतिहरुलाई पूर्णता दिएर प्रकाशन गर्ने र जनकपुरमा सहिद दुर्गानन्द झाको स्मारक बनाउने उहाँको चाहना थियो ।     

 विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेका झालाई विसं २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो । तिनै झाको सम्झनामा शालिक निर्माण र अन्य गतिविधि गर्न नेपालीले सुरुदेखि नै अभियान थाल्नुभयो । शालिक निर्माणको सपना जग्गा अभावमा लामो समयसम्म पूरा हुन सकेन । शरीरले काम गर्न छोडेपछि थला परेका नेपालीको त्यो चाहना पूरा गर्न गत वर्ष मात्रै जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सोनामाई थानमा झाको शालिक राखिएको छ । अप्रकाशित कृति प्रकाशन गर्ने चाहना भने उहाँ जीवित रहँदै पूरा हुन सकेन ।     

 त्यसैगरी, विसं २०४२ असार ५ र ६ गते काठमाडौँमा भएको बमकाण्डमा संलग्न भएको आरोपमा जनकपुरबाट पक्राउ गरी काठमाडौँ लगिएका नेपालीसहित १४ जनामध्ये बेपत्ता सातजनाको अवस्थाबारे लेखेर, बोलेर राज्यलाई जवाफ माग्ने उहाँको अर्को चाहना थियो ।     

 “विसं २०४२ मा बेपत्ता मेरा साथीहरु डा लक्ष्मीनारायण झा, सत्यनारायण साह, ईश्वर लामा, पदम लामा, सूर्यनाथ राना यादव, साकेतचन्द्र मिश्र र दिलीप चौधरीलाई साउन ४ गते बेपत्ता पारियो तर अहिलेसम्म खोजिएन, न त उहाँहरुको अवस्था बताइयो”, नेपालीले दुःखेसो पोख्नुहुन्थ्यो, “मेरा साथीहरुको अवस्था भनी त दिनुपर्यो नि परिवारलाई ” नेपालीको यो चाहना पनि जीवित अधुरै रह्यो ।     

 वरिष्ठ पत्रकार नेपालीले पत्रकारिताका सन्दर्भमा देखेको एउटा सपना पनि अधुरै छ । त्यस विषयमा उहाँको कथन थियो, “मैले आफ्नो लागि सरकार र पत्रकारसम्बद्ध संस्थाबाट केही माग्दिन तर भारतको पिआइबीजस्तै सरकारी नीति, कार्यक्रम, पहलकदमी र उपलब्धिका विषयमा आमसञ्चार माध्यम तथा पत्रकारलाई सम्पूर्ण जानकारी दिने एउटा साझा संस्था भइ दिए हुन्थ्यो भन्ने मेरो सपना थियो । त्यो अहिलेसम्म पूरा भएको छैन । बाँचियो भने फेरि बोल्छु, फेरि लेख्छु ।”     

 तर तिनै लोकतान्त्रवादी, प्रेस स्वतन्त्रता सेनानी नेपाली अब कहिल्यै बोल्नुहुने छैन, कहिल्यै लेख्नुहुने छैन । उहाँसँगै उहाँको सपना पनि मृतप्रायः छ । त्यो सपना पूरा गर्न लाग्नु नै नेपालीप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँका ज्वाइँ तथा पत्रकार श्रीनारायण साहको भनाइ छ । रासस   

ताजा समाचार

Related Articles