खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उत्पादनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आउने बताउनुभएको ।

मन्त्री काफ्लेले विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको प्रदेश सभा बैठकमा बिहीबार जवाफ दिँदै उत्पादनलाई जोड दिएर आगामी आवको बजेट आउने बताउनुभएको हो । मन्त्री काफ्लेले आगामी आवमा अधुरा योजना पुरा गर्ने र प्रादेशिक सडकका लागि प्राथमिकता दिइने बताउनुभयो ।

उहाँले वित्तीय संघीयता कार्यान्वयन गर्न प्रदेशको आन्तरिक रुपमा आत्मनिर्भर हुनुपर्ने भन्दै बजेट प्रणालीमा वित्तीय जवाफदेहिता अभिवृद्धि गर्ने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथकिता आएको बताउनुभयो ।

उहाँले चालु खर्चमा कटौती र पुँजीगत खर्चमा अभिवृद्धि गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिको क्षेत्रमा लगानी गरिने बताउनुभयो ।

यसअघि विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दैप्रदेश सभा सदस्यहरुले उत्पादनमा जोड दिएर आगामी आवको बजेट आउनुपर्ने बताउनुभएको थियो ।

प्रदेश सभाका सदस्यहरु रमेश महत, रत्नप्रसाद ढकाल, उद्धब थापा, रामप्रसाद ढुङ्गाना, प्रेमबहादुर पुलामी, दीपेन्द्र श्रेष्ठ, आशा लामा, युवराज चौलागाई, शकुन्तला श्रेष्ठ, डम्बर तामाङ, समिता खड्गी, कुमारी तामाङ विन्दु श्रेष्ठ, धनेश्वरी प्रजापतीलगायतले विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकताका आधारमा आगामी आवको बजेट आउनुपर्ने धारणा राख्नुभएको थियो । विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ ।
