खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशसभामा चिट्ठा विधेयक पुनः पेस गरेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बिहीबारको प्रदेश सभाको बैठकमा प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो ।

प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको सो विधेयक सन्देशसहित फिर्ता आएकोमा पुनः प्रदेश सभामा पेस गरिएको हो ।

बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्यहरु रत्नप्रसाद ढकाल, भरतबहादुर केसी र रमेश महतले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री लामिछानेले यसअघि प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको बताउनुभयो । उहाँले लामो समयदेखि चर्चामा रहेको र दुई वर्षदेखि थन्किएर रहेको यो विधेयकमाथि समितिमा मसिनो ढङ्गले छलफल गरी आवश्यक छ छैन टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभाको २०८० वैशाख १२ गतेको बैठकबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुखबाट जेठ ७ गते पुनर्विचार गर्न भन्दै सन्देशसहित फिर्ता भएको थियो ।
