हेटौँडा, जेठ ९ गते ।
बागमती प्रदेशभित्रका गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुलाई सेवा प्रवाहका क्रममा कार्य सम्पादनमा परेका समस्या र कानुनी साक्षरता सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश कार्यसमितिको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमतीको सहयोगमा शुक्रबारबाट हेटौँडामा सुरुभएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेशले पूर्व योजना र तयारी बिना लगानी गरेका कतिपय योजनाहरु अलपत्र परेको बताउनुभयो ।

उहाँले सात वर्ष भईसक्दा पनि प्रदेशके आफ्नै प्रशासनिक भवन बनाउन नसकेको भन्दै टुक्रे आयोजना भन्दा नागरिकलाई प्रतिफल दिने योजनामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश कार्यसमिति, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षता भएको सो कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा.गंगादत्त नेपाल, राष्ट्रियसभाका पूर्व सदस्य डा.खिमलाल देवकोटा, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।




