खासकुरा संवाददाता
हेटौँडा, जेठ ९ गते ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत रहेको प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

यही जेठ १३ देखि १५ गतेसम्म स्वास्थ्य शिविरलगायतका कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

शुक्रबार यहाँ बसेको समितिको बैठकले प्रदेशका विभिन्न मन्त्रालयको संयोजनमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको उहाँले सुनाउनुभयो । जेठ १५ गते बिहान प्रभातफेरी, प्रवचन, सम्मानलगायतका कार्यक्रम हेटौँडामा आयोजना गरिने छ ।

उहाँले गत असोजमा ललितपुरमा आएको बाढीबाट दुई जनाको ज्यान जोगाउने कार्यमा भूमिका निर्वाह गर्नुभएका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले एक लाख ५० हजार रुपियाँसहित सम्मान गर्ने निर्णय भएको छ ।




