खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
हेटौँडा उपमहानगरपालिका १६ का वडाध्यक्ष रामकृष्ण कोइरालालाई गणतन्त्र दिवसका अवसरमा सम्मान गरिएको छ ।

वडाध्यक्ष कोइरालाको पहल र प्रयासमा हेटौँडा उपमहानगरपालिका १६ मा दलदलका गाडी भासिएको लामो समयपछि निकालेर प्रसंशनीय कार्य गरेको भन्दै गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी गत वैशाख १९ अचानक जमिनमा भासिएपछि बेपत्ताभएको थियोे ।

उक्त गाडी स्थानीय प्रशासनले निकाल्न नमानेपछि वडाध्यक्षको पहलमा भासिएका स्थानबाट उपकरण प्रयोग गरी गाडीका विभिन्न पार्टहरु निकालिएको थियो ।

जमिनमा भासिएक्षेत्रमा अध्ययन गर्न आएको भूगर्भविद्को टोलीसमेत सो क्षेत्र जोखिमपूर्ण रहेको भन्दै फर्किएको थियो ।

गाडी भासिएको क्षेत्रमा दलदलभएको भन्दै स्थानीय प्रहरी प्रशासनले गाडी झिक्न चासो नदेखाएपछि आफूले पहल गरेर झिकेको वडाध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, जोखिमका बिच आफ्नो पहलमा गाडीको केही भाग निकालिएको थियो ।

यसैबिच गणतन्त्र दिवसको अवसरमा सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारहरु प्रताप विष्ट, रामचन्द्र अर्याल, कमला तामाङ, कुमारभक्त रञ्जितकार, नवराज छत्कुली र नेपोलियन चेपाङ पुरस्कृत गरिएको हो ।

संस्थागत पत्रकारिता पुरस्कारबाट काठमाडौंकी शोभा अर्याल पुरस्कृत हुनुभएको छ । पुरस्कृत भएकालाई जनही २५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको थियो।



