खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
बारा अमलेखगञ्जबाट काठमाडौँतर्फ डिजल लोड लिइ जाँदै गरेको ट्याङ्करका चालकले हामफालेर ज्यान जोगाएका छन् ।


मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुर जिल्लाको सिमामा रहेको बगुवा खोला पुलमा बिहीबार बिहान उक्लनेक्रममा हिलो बाटोमा चिप्लिएर ब्याक भइ खोलामा खस्ने क्रममा ट्याङ्करका चालक वीरगञ्ज महानगरपालिका २१ बस्ने वर्ष २६ का कृष्ण महतोले हामफालेर ज्यान जोगाउनुभएको हो ।

चालक महतोले आफू सकुशल रहेको प्रहरीलाई दिनुभएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २– ०३– ००१ क २०३१ नम्बरको ट्याङकर पुलमा उक्लने क्रममा चिप्लिएर ब्याक भइ खोलामा खस्न गई गाडी बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्याङकर खोलाले बगाएर सय मिटर तल पुगेको छ ।

यस्तै वीरगंजबाट काठमाडौँतर्फ भान्साको सामान लोड लिई जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक खोलामा पानीको बहाव बढी भई पानीमा फसेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका ट्रक बागमती पुल नजिक दुई सय मिटर उत्तर तर्फ पार्किङ गरी राखेकोमा खोलामा पानीको बहाव बढी भई डिब्बा ट्रक पानीमा फसेको हो ।

ट्रकका चालक सिन्धुपालचोक बाह्रबिसे नगरपापालिका ३ बस्ने वर्ष ३५ विश्व बन्धु श्रेष्ठले बिहीबार बिहान घटनाका बारेमा जानकारी गराउनुभएएको हो । डिब्बा ट्रक घटनास्थलमा नै रहेको र मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।




