खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा बिहीबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सभामुख भुवनकुमार पाठकको खोजीभएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सभामुख पाठकको खोजी गर्नुभएको हो ।

कार्यक्रममा कार्यक्रमको अध्यक्षता गर्नुभएका मुख्यमन्त्री, प्रमुख अतिथि प्रदेश प्रमुख, विशिष्ट अतिथि प्रदेश प्रमुखका धर्मपत्नीलाई संवोधनपछि मन्त्री लामिछाने भन्नुभयो, त्यसैगरी आजको यो समारोहमा हामीले बागमती प्रदेशका माननीय सभामुखज्यूलाई पनि आमन्त्रण गरेका थियौ, उहाँलाई महिले देखिरहेको छैन ।

सभामुख पाठक, पूर्व मुख्यमन्त्रीलगायतलाई मञ्चको व्यवस्था भएपनि खाली रहेको थियो । उता मुख्यमन्त्री कार्यालयको प्रवेशद्वारमा उभिएर बसेका पत्रकारहरुले भने सभामुख पाठक काठमाडौँ गएको आकलन गर्दै थिए ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरु, उपसभामुखलगायतको सभागिता रहेको थियो । सभामुख पाठकको गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिको आयोजनामा हुने गरेका कार्यक्रमहरुमा उपस्थिति रहने गरेको छैन ।

सो अवसरमा मन्त्री लामिछानेले यो गणतन्त्रात्मक व्यवस्थामा गणतन्त्र नमान्ने पनि अटाएका छन्, गणतन्त्र चाहने तर संघीयता नचाहने पनि अटाएका छन्, गणतन्त्र र संघीयता दुवै नचाहने पनि अटाएका छन् भन्दै फरक विचार बोक्ने राज्यको पदाधिकारीसमेत बनेको बताउनुभयो ।




