हेटौँडा, जेठ १५ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाभित्रका आधारभूत, निम्न र माद्यामिक विद्यालय तहका अंग्रेजी शिक्षकहरुलाई चार दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दीगो विकास लक्ष्यको लागि शिक्षा क्षेत्रको ठुलो भूमिका रहने भएकाले पालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनुभयो ।

शिक्षक र विद्यार्थीको सामिप्यता ज्यादा हुनुपर्छ, हाम्रो क्षेत्रमा पढाईका विधिहरुमा पनि केही परिवर्तन गर्दै अध्यापन गराउन अध्यक्ष मुक्तानले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका विद्यालयहरुमा पूर्वाधारमै समस्या छ, त्यसले पर्याप्त मात्रामा सुविधा भएको तालिम केन्द्र नभएको अवस्थामै छिट्टै नै आवासीय व्यवस्था सहित तालिम केन्द्र सञ्चालन गर्ने सोच रहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुनर्ताजगीले थप सोच विचार र पठनपाठनमा परिवर्तन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समृद्ध कैलाश बनाउन शिक्षाको भूमिका महत्व रहने भएकाले शिक्षकहरुको सकरात्मक सोचले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण बनाउन सक्ने बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक सूर्यप्रसाद घिमिरेले तालिम पश्चात भएको परिवर्तनलाई सुरुमै विद्यार्थीले आभाष हुने गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कालिका माध्यामिक विद्यालय नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट शिक्षकद्धय गीता थपलिया र अर्जुन राईले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।
तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।



