मत्स्यपालनको जग्गा पैँतीस दिनभित्र खाली गर्न सूचना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते ।

हेटौँडा उपमहानगरपालिका ५ मा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको अतिक्रमणमा परेको जग्गा खाली गर्न केन्द्रले चेतावनीसहित सूचना जारी गरेको छ ।
स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएका छन् ।
केन्द्रको जग्गा छ जनाले अतिक्रमण गरी बसेको पाइएपछि अतिक्रमण गरी बनाएका घर टहरालगायतका संरचनाहरु हटाउने गरी केन्द्रले प्रक्रिया सुरु गरेको हो ।
केन्द्र ३५ दिनभित्र जग्गा खाली गर्न भन्दै शनिबार सूचना जारी गरेको छ । केन्द्रका प्रमुख सरोजकुमार यादवले केन्द्रको जग्गा अतिक्रण गरी बनाइएका घर टहरालगायतका संरचनाहरु ३५ दिनभित्रमा हटाउन सूचना जारी गरिएको जानकारी दिनुभयो ।
केन्द्रका प्रमुख यादवका अनुसार केन्द्रकै कर्मचारी प्रेमबहादुर परियार बस्दै आएको सरकारी भवनसमेत तत्काल खाली गर्नुपर्ने छ ।
यसअघि क्लब र नौ जना व्यक्तिले गरी नौ बिघा सात कट्ठा १३ धुर जग्गा अतिक्रमण गरिएको केन्द्रको प्रारम्भीक अनुमान रहको थियो ।
क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएका थिए ।
सरकारी जग्गा अतिक्रमण गर्नेहरु अतिक्रमणमा मात्र सीमित नभएर टहरा र पक्की घर बनाएर भाडामा समेत दिँदै आएको पाइएको छ ।
केन्द्रका प्रमुख यादवले नापी कार्यालयबाट केन्द्रको जग्गा नाप जाँच गराउँदा कित्ता नम्बर ९६ को जग्गा अतिक्रमणमा परेको जानकारी दिँदै पिप्ले युवा क्लबले प्रयोग गर्दै आएको जग्गाको बारेमा मन्त्रालयस्तरमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल चलिरहेको बताउनुभयो ।
केही व्यक्तिले जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाएको, पसल सञ्चालन गरेको, बारी अतिक्रमण गरेको, जग्गा अतिक्रमण गरी टहरा र पक्की घर बनाएर रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको पाइएको छ ।
३५ दिनभित्रमा अतिक्रमण गरी बनाइएको घर टहरालगायतका संरचनाहरु हटाउन सूचना जारी गर्दै ३५ दिनभित्र जग्गा खाली नगराई अटेरी गरेमा केन्द्रलेनै सबै संरचनाहरु हटाई खाली गराउने र यसरी जग्गा खाली गराउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नियमानुसार असुल उपर गरिने सूचनामा उल्लेख छ । केन्द्रले केन्द्रको कित्ता नम्बर ९६ को जग्गा भोगचलन गर्दै आएका विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री व्रज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धब चौलागाईँ र पदमबहादुर खड्कालाई केन्द्रमा बनेका संरचनाहरु हटाई जग्गा खाली गर्न भनेको छ ।

ताजा समाचार

Related Articles