खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते ।
नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडामा विविध कार्यक्रम गरी अभियानको शुरुवात गरिएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अन्तर्गत हेटौँडा १ मा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।
हेटौँडा २ मा शहीद परिवारलाई सम्मान र ओम वृद्धाश्रमलाई नगद पाँच हजार सहयोग गरिएको छ । शहीद चिन्तामणि तिमल्सिनाको माता बालकुमारी र पिता ठाकुरप्रसाद तिमल्सिनालाई पार्टीका केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगरपालिका अभियान संयोजक रत्न ढकालले सम्मानपत्रसहित सम्मानित गर्नुभएको थियो ।
हेटौँडा ३ मा शहीद परिवारलाई भेटघाट गरी जनगुनासो सुनुवाई गरिएको थियो ।
यस्तै हेटौँडा ४ मा अनाथ बालकहरु आश्रित आमसाई विद्यालयलाई चामल, दाल, सोयाबिन, आलु, नुन र तेललगायतका खाद्यान्न सहयोग गरिएको छ । हेटौँडा ५ को ढुङ्गेधारा पर्यटकीय क्षेत्रमा वृक्षरोपण, हेटौँडा ६ मा वडा कार्यालय उद्घाटन तथा शहीद परिवारको जेष्ठ नागरिकलाई सम्मान र हेटौँडा ७ स्थित न्युरेनी सामुदायिक वनमा रहेको कालिदेवी मन्दिर वरपर सरसफाई र फलफूलको विरुवा रोपिएको छ । यस्तै अन्य वडाहरुमा पनि सरसफाई, शहीद परिवारका सदस्यहरुको सम्मान, प्रशिक्षण, वडा कार्यालय उद्घाटन, पार्टीको एजेण्डाका बारेमा छलफल, जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका बारेमा छलफललगायतका कार्यक्रमहरु भएको छ ।