प्रदेश सरकारको बजेटको संचार संघ संगठनद्वारा विरोध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सहित पत्रकार संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघ प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगर नेतृत्वमा गएको टोलीले बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएका हो । श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रलाई निषेध गरेर बजेट ल्याएको भन्दै सञ्चार संगठनहरुले आपत्ति जनाएका हुन् ।

सञ्चार क्षत्रेलाई निषेध गरी आगामी आवको बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधिहरू सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण नगर्नेसम्मको संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । ‘सञ्चारमाध्यमहरुले पाउँदै आएको लोककल्याणकारी विज्ञापन वृद्धिको माग गरिएकोमा चालु आवमा भन्दा ८५ प्रतिशतले कटौती, पत्रकार संघसंगठनको प्रदेश समितिहरु मार्फत पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजिवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रमहरु कटौती गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

आगामी आवको नीति तथा कार्यक्रममा पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, सञ्चार क्षेत्रको विकासको लागि कानूनी तथा कार्यक्रमगत प्रबन्ध तथा विज्ञापन अनुगमन तथा नियमनको लागि कानूनी प्रवन्ध मिलाउने विषय समेटिएपनि ती कार्यक्रम बजेटमा समावेश नभएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

‘आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही लाख रुपियाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई बजेट शून्य बनाइनु दुखदु विषय हो’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउनेगरी ल्याइएको बजेट संशोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न मुख्यमन्त्री लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले सहित सम्बद्ध सबै प्रदेश सरकारका सरोकार पक्ष र विपक्षी दलहरूसँग माग गर्दछौं ।’

पत्रकार महासंघ बागमतीका अध्यक्ष कृष्ण सारु मगर, नेपाल प्रेस युनियन बागमतीका उपाध्यक्ष सुजन बिडारी, प्रेस चौतारी नेपाल बागमतीका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपाल बागमतीका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० बागमतीका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ बागमतीका कोषाध्यक्ष दानबहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समुह बागमतीका महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघ बागमतीका सचिव कुमार श्रेष्ठले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

ताजा समाचार

Related Articles