हेटौँडा, जेठ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न निर्वाचनमा दुई मतको अन्तरले अर्याल सभापति निर्वाचित हुनुभएको हो । अर्यालले अच्युतम लामिछानेलाई पराजित गर्नुभएको हो ।
यसअघि हेटौँडामा जेठ २५ गतेदेखि सुरु भएको प्रथम अधिवेशनमा प्रतिनिधिलगायतका विषयमा विवाद भएपछि निर्वाचन स्थगन गरिएको थियो ।

अर्यालले ४१८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी डा। अच्युतम लामिछानेले ४१६ मत प्राप्त गर्नुभएको छ । यसअघि बागमती प्रदेश समितिका प्रवक्ता रहनुभएको अर्याल मकवानपुरका हुनुहुन्छ । नुवाकोटबाट निर्वाचित सांसदसमेत रहनु भएका लामिछाने रास्वपा बागमती प्रदेशका निवर्तमान सभापति हुनुहुन्छ ।
प्रतिनिधि तथा मतदाता नामावली र उम्मेदवारका विषयमा विवाद देखिएपछि हेटौँडामा अधिवेशन स्थगन गरी रास्वपाको केन्द्रीय निर्वाचन आयोगले नयाँ कार्यतालिका बनाएर काठमाडौँमा मतदान गरिएको थियो ।




