अखाद्य बस्तु बिक्री गर्ने हेटौँडाको होटलमा सिलबन्दी र दुई लाख जरिवाना

लोकप्रिय

मकवानपुर, जेठ ३१ गते । हेटौँडा उपहानगरपालिका १९ बस्तिपुरस्थित एक होटललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
माउण्ट दिव्यज्योति भोजनालयले दुषित एवं अखाद्य बस्तु बिक्री गरेको र सामान्य मापदण्डसमेत पुरा नगरी खाद्य ऐन विपरीत होटल सञ्चालन गरेको पाइएपछि जरिवानासहित होटल सिलबन्दी गरिएको ।
होटलले खान अयोग्य दुषित एवं अखाद्य खाना बिक्री गरेको उपभोक्ताको गुनासोपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडासहितको टोली अनुगमनका लागि पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले होटलले अखाद्य र सडेगलेको अवस्थाको खान अयोग्य खाना बिक्री गरेपछि जरिवानासहित कारवाही गरिएको जानकारी दिनुभयो ।
होटल अव्यवस्थित, साँघुरो, भान्सा फोहोर, अँध्यारो र अखाद्य बस्तु बढी भएको पाइयो उहाँले भन्नुभयो, मूल्य पनि अत्यधिक लिने गरेको पाइयो, सेवाग्राहीलाई राम्रो व्यवहारसमेत नगर्ने गरेको गुनासो थियो ।
दुई लाख रुपियाँ जरिवानासहित होटलमा सिलबन्दी गरिएको भन्दै उहाँले जिल्ला प्रशासन कार्यालयमा बयानका लागि हाजिर हुन बोलाइएको बताउनुभयो ।

उहाँका अनुसार यसअघि पनि उक्त होटललाई लापबाही गरेकै कारण २५ हजार रुपियाँ जरिवाना गरिएको थियो ।
होटलका कागजपत्र ठीक भएपनि होटल सञ्चालकले गर्ने व्यवहार ठीक नभएको भन्दै पानीको अधिक मूल्य प्रति बोतल २० रुपियाँ भएपनि ३० रुपियाँसम्म लिने गरेको पाइएको प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।
यस्तै हेटौँडाको राप्ती रोडमा रहेको एक किराना पसललाई प्रशासनले जरिवाना गरेको छ । अखाद्य बस्तुसँगै खाद्य बस्तु राखेको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखेको र अनुगमनका क्रममा गोदाम देखाउने लगायतका कार्यमा असहयोग गरेको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उक्त किराना पसललाई सुधार गर्न चेतावनीसहित २० हजार रुपियाँ जरिवाना गरिएको छ ।

ताजा समाचार

Related Articles