हेटौँडा, जेठ ३१ गते । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजना, हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौँडा–७ को समन्वयमा सञ्चालित बोत्तल देउँ, बिरूवा लिउँ कार्यक्रम आज श्रीनिवास टोल विकास संस्थाको परिसरमा सम्पन्न भएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष दामोदर गौतम प्रमुख अतिथ्यता भएको सो कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, सुरेश लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. ७ का अध्यक्ष युवराज गौतम, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष मनोज अर्याल, पूर्व अध्यक्ष जनार्जन पौडेल, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपानेलगायतको विशेष उपस्थिति रहेको थियो।
अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूबाट संकलित प्लास्टिकका बोतलहरूको सट्टामा लिची, आँप, अम्बा, कागतीलगायतका १५० भन्दा बढी फलफूलका बिरुवाहरू वितरण गरिएको थियो । वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा स्थानीयको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रममा वडाध्यक्ष दामोदर गौतमले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै समुदायस्तरबाट सञ्चालन हुने यस्ता अभियानहरूले सरसफाइ, हरियाली विस्तार तथा नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीले टोल विकास संस्थाहरू भौतिक विकासका लागि मात्र नभई सामाजिक रूपान्तरण, वातावरण संरक्षणलगायतका अभियानको महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
कार्यक्रमका आयोजकले हालसम्म तीन चरणमा छ सयभन्दा बढी बिरुवा वितरण गरिसकिएको जानकारी दिँदै आगामी दिनमा एक हजार एक सय बिरुवा वितरण गर्ने लक्ष्य रहेको बताएका छन् ।




