हेटौँडा, असार १४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा चट्याङ लाग्दा छोरीको मृत्यु र आमा घाइते भएकी छिन् ।

शुक्रबार साँझ करिब ५ः३० बजे घरमै बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ लाग्दा रविना प्रजाकी
सात वर्षीया छोरी युनिका प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते अवस्थामा युनिकालाई उपचारका लागि मनहरी अस्पताल लगिएकोमा उपचारको क्रममा राति करिब ८ः५२ बजे मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी युनिका प्रजाकी आमा २६ वर्षीया रविना प्रजाको मनहरी अस्पतालमा उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




