खासकुरा संवाददाता
हेटौँडा, असार १४ गते । मकवानपुरको बागमती गाउँपालिका ९ मा स्वास्थ्य चौकीका कार्यालय सहयोगीले खुर्पा प्रहार गर्दा स्थानीय एक जनाको ज्यान गएको छ ।

बागमती गाउँपालिका ९ स्थित बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले स्थानीय ५७ वर्षीय राम बहादुर वाईवामाथि शनिबार बिहान खुर्पा प्रहार गर्दा वाइबाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती गापा ९ बेतिनीस्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बारा जिल्ला निजगढ नगरपालिका ३ सिंगोलका ३५ वर्षीय थापाले शनिबार बिहान ५ः०० बजेको समयमा धारिलो हतियार खुर्पाले हिर्काई गम्भीर घाईते बनाएका थिए ।

घाँटीमा गहिरो चोट लागेका वाईबाको बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले जाँच गरी मृत घोषणा गरेको थियो ।
थापाले नजिक कोही आए मार्छु भन्दै सोही स्थानमा बसेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले निज थापालाई नियन्त्रणमा लिएको थियो । घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




