उवासंघदेखि लोकप्रिय भोजन चोकसम्म व्यवस्थित फुटपाथ निर्माण गरिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १९ गते । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. २ मकवानपुर उद्योग वाणिज्य संघदेखि लोकप्रिय भोजन चोकसम्मको सडक खण्डमा व्यवस्थित फुटपाथ निर्माण गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघदेखि लोकप्रिय भोजन चोकसम्म व्यवस्थित फुटपाथ निर्माणका क्रममा सडकको पूर्व तर्फको अस्थायी संरचना हटाउन हेटौँडा उपमहानगरपालिका २ वडा कार्यालयले स्थानीय बासिन्दासँग आग्रह गरेको छ ।

वडा कार्यालयले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) देखि लोकप्रिय भोजन चोकसम्म व्यवस्थित सडक पेटी निर्माण गर्ने योजना अगाडि बढाइएको भन्दै सो क्षेत्रमा रहेको अस्थायी संरचना हटाउन स्थानीय बासिन्दालाई सार्वजनिक रुपमा आग्रह गरेको हो ।

वडाध्यक्ष विष्णुगोपाल महर्जनले मउवासंघ चोकदेखि उत्तरतर्फ ओरालोमा पश्चिमतर्फ केही भाग पाखो रहेको र पूर्वतर्फ अव्यवस्थित घर÷टहरा, पेटी आदि निर्माण भएको हुँदा सो सडकखण्डमा पैदलयात्रीहरु हिड्ने स्थान अभावमा मुख्य राजमार्गबाट नै हिड्नु पर्ने बाध्यता रहेको भन्दै यसले दुर्घटनाको जोखिम बढाएकोले व्यवस्थित फुटपाथ निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
बजार क्षेत्रमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा पेटीको व्यवस्था हुनुपर्नेमा सो क्षेत्रमा पेटीको अभावमा दुर्घटनाको सम्भावना अधिक नै देखिएको छ वडाध्यक्ष महर्जनले भन्नुभयो, कयौँ पटक पैदलयात्रुहरुलाई सवारी साधनले ठक्कर दिएको पनि हामीले सुनेका छौँ, दैनिक दुर्घटनको जोखिम बढ्दो छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने यस खण्ड सडक डिभिजनको क्षेत्राधिकारभित्र रहेको र ५० मिटर बिस्तार गर्ने कार्य हाल स्थगित भएको भन्दै उहाँले सडक विस्तारको काम ढिला हुने देखिएकोले हाललाई सो मार्ग भएर चल्ने सवारी र प्रदलयात्रुको सहजताका लागि फुटपाथ निर्माण गर्न लागेको बताउनुभयो ।
प्रथम चरणमा ढलबाट तीन मिटरभित्र फुटपाथ निर्माण गर्ने योजना बनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य प्रचलित कानुन बमोजिम हुने गरी सो क्षेत्रमा पेटी निर्माणका लागि अस्थायी संरचना हटाउनु अत्यावश्यक भएको भन्दै सो क्षेत्रका घरधनीहरुलाई अस्थायी संरचना हटाएर सहज वातावरण बनाई दिन वडा कार्यालयले आग्रह गरेको छ ।

 

ताजा समाचार

Related Articles