सहमती जुट्न नसक्दा बैठक बस्न सकेन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते ।
आज सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक साँझ ६ः०० बजेसम्म सुरु हुन सकेन ।
झण्डै दुई महिनापछि आज सोमबार दिउँसो बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बोलाउनुभएको बैठकमा सत्ता पक्ष र विपक्षबिच सहमती हुन नसक्दा बस्न नसकेको हो । प्रदेश सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सभा बैठकको कार्य सूची तय गर्न बोलाइएको भएपनि कार्य सूची तय गर्न सकेन ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङदोर्जे लामाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमती जुट्न नसकेको जानकारी दिनुभयो । समितिको बैठकबाट बाहिरिनुभएका उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमती जुट्न नसकेका कारण आजको बैठक बस्न नसकेको बताउनुभयो ।
यसअघि नेकपा एमालेलगायतका दलहरुसँग भएको सहमती कार्यान्वयन नभएको भन्दै विपक्षीले बैठक बस्न नदिने बताउँदै आएका छन् ।
दलहरुबिच सहमती हुन नसकेपछि दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक ४ः०० बजेको लागि सारिएको थियो । तर दलहरुबिच सहमती नजुटेका कारण बैठक बस्न ढिलाई भएको थियो ।
गत असारमा चालु आवको बजेटमाथिको छलफलमा एमालेलगायतका दलहरुका विरोधपछि उनीहरुको माग संवोधन गर्ने सहमतीमा बजेटमाथिको छलफललाई अगाडि बढाइएको थियो । सरकारले उक्त सहमती कार्यान्वयन नगरेको बताउँदै विपक्षी दलहरुले बैठक चल्न नदिने बताएका छन् ।

ताजा समाचार

Related Articles