खासकुरा संवाददाता
हेटौँडा, असार २३ गते । बागमती सरकारलाई बागमती प्रदेश सभाले तीन महिनाभित्र योजना तर्जुमा तथा अनुगमन समिति गठन गर्न निर्देशन दिएको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गर्दै योजना तर्जुमा र तथा अनुगमन समिति गठन गर्ने सहितको विधेयक निर्माण गरी प्रदेश सभामा पेस गर्न मुख्यमन्त्री तथा मन्त्रीपरषद्को कार्यालयलाई निर्देशन दिएको हो ।
प्रदेश सरकारले निर्माण गर्ने बजेटलाई सुव्यवस्थित र जनतामुखी बनाउन तीन महिनाभित्र हरेक प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रका निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्वमा समिति गठन गर्न पारित संकल्प प्रस्तावमा भनिएको छ ।
यस्तै प्रदेश सभाले प्रदेश सरकारलाई पुनर्संरचना अध्ययन समिति गठन गरी तीन महिनाभित्र ओएनएम गर्न निर्देशन दिएको छ ।
बैठकले प्रदेश सरकारको एकल अधिकारमा आधारित भई प्रदेश सरकार मन्त्रालय, आयोग, बोर्ड, कार्यालय र कर्मचारीको संख्या सोको आधारमा भएको खर्चलाई कटौती गरी आर्थिक मितव्ययिता र सुशासन कायम गर्न प्रभावकारी सेवा प्रवाह गर्न समयोचित विचार गर्नुपर्ने आवश्यकता भएको भन्दै यस्तो निर्देशन दिएको हो ।
प्रदेश सभा सदस्यद्वय मधुसूदन पौडेल र रमेशकुमार महतको प्रस्ताव तथा प्रदेश सभामा सदस्यद्वय केशवप्रसाद पोखरेल र प्रभात तामाङको समर्थनमा सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेश गरिएको थियो ।
संकल्प प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्यहरु रत्नप्रसाद ढकाल, सुना परियार, छिरिङ दोर्जे लामा र दिनेशचन्द्र देवकोटाले आफ्ना धारणा राख्नुभएकको थियो ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले संकल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । 




