खासकुरा संवाददाता
हेटौँडा, साउन ४ गते । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट छ ग्राम चार सय मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित सात जनालाई पक्राउ गरेको छ । लागूऔषध खैरोहेरोईनसहित पक्राउ पर्नेमा मकवानपुरका दुई युवतीसमेत रहेका छन् ।

पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष २० को सतिस लामा, वडा नं. ५ सानोपोखरा बस्ने वर्ष २० को सन्जीव लामा, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन र मकवानपुरगढी गाउँपालिका वडा नं २ बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागूऔषध खैरो हेरोईन दुई ग्राम २१० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

यस्तै हेटौँडा १५ स्थित रातोमाटे चेकिङ पोईन्टबाट ना ३७ प ६४४९ नं. को मोटरसाइकलका चालक पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं. १ बनकटवाका वर्ष २७ का अकलेश महतो कुशहवाको साथबाट दुई ग्राम ९१० मिलिग्राम, सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा नं.६ घर भई हेटौँडा वडा नं. ९ लामसुरे बस्ने वर्ष ३६ का शैलेन्द्र चौधरी र सप्तरी राजगढ गाउँपालिका वडा नं. २ बनैनिया घर भई हाल हेटौँडा १० बस्ने वर्ष ३६ को अजय सिंहको साथबाट एक ग्राम २८० मिलिग्राम लागूऔषध प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।




