हेटौँडा, साउन ५ गते । असुरक्षाको कारण देखाउँदै हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय परिसरबाट नागरिकलाई प्रदान गरेका छन् ।
वडा कार्यालयबाट प्रदान गरिने सेवा जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको विश्रामस्थलमा टेबुल राखेर वडाध्यक्षहरुले नागरिकलाई सेवा प्रदान गरेका हुन् । 

वडाध्यक्षमाथि आक्रमण भएको एक महिना बित्दासमेत स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न दोषीलाई पक्राउ नगरेपछि आन्दोलनमा उत्रिएका हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिले दोस्रो दिन सोमबार पनि जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवा प्रदान गरेका थिए ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएको हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते वडा कार्यालयको कार्यकक्षमा नै आक्रमण गर्नेलाई पक्राउ नगरेपछि स्थानीय प्रहरी प्रशासन विरुद्ध आइतबारबाट जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयभित्रै कालो ब्यानरसहित गरिएको विरोध कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसहित वडाध्यक्षहरु धर्नामा बस्नुभएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जनप्रतिनिधिमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही अगाडि बढाउन पटक पटक प्रहरी प्रशासनलाई आग्रह गर्दासमेत सुनुवाई नभएको र आनाकानी गरिएको बताउनुभयो ।
आक्रमणको घटनामा संलग्नलाई पक्राउ गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कालाई पटक पटक आग्रह गर्दासमेत पक्राउ नगरेको र सुरक्षाको वातावरण नबनेकोले आन्दोलनमा उत्रन बाध्यभएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
हेटौँडाका जनप्रतिनिधिहरुले राजनीतिक दलहरुसँग छलफल गरेर सडक आन्दोलनमा जानेसम्मको तयारी गरिएको जनाएका छन् ।
उता जिल्ल प्रशासन कार्यालय मकवानपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा जनप्रतिनिमाथि भएको आक्रमणलगायत जिल्लाको शान्ति सुरक्षाका बारेमा समेत छलफल भएको छ ।




