आर्चरीमा चार खेलाडी सहभागी हुँदै

लोकप्रिय

पोखरा, भदौ १९ गते ।
१९ औँ एसियाली खेलकुदमा हुने आर्चरी खेलमा नेपालका चार जना खेलाडी सहभागी हुने भएका छन् ।
इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुदमा सहभागी हुनु भएका तिलक पुन मगर दोस्रो पटक सहभागी हुने १९ औँ एसियाली खेलकुदमा भने सके पदक अन्यथा राष्ट्रिय रेकर्ड तोड्ने रणनीतिमा हुनुहुन्छ ।
असारमा केही समय काठमाडौँमा प्रशिक्षणमा रहनु भएका पुनसहितका चार जना खेलाडीलाई आर्चरी ट्रेनिङ सेन्टर उपयुक्त नभएका कारण साउन १ गतेदेखि हाल पोखरामा बन्द प्रशिक्षणमा रहनु भएको छ । चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले आर्चरी खेलमा पुनसहित मन्जु बजगाई रिकर्भ विधामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । आर्चरीको कम्पाउण्ड विधामा योगेन्द्र शेरचन र इमायुङ राई प्रतिस्पर्धा गर्ने भएका हुन् । आगामी असोज ६ देखि २३ गतेसम्म चीनमा हुने आर्चरी खेलमा नेपालको तर्फबाट चौथौँ पटक सहभागी हुने भएको हो ।
यसअघिका प्रतियोगितामा नेपालको सहभागितामा मात्र सीमित भएको थियो । राई र मन्जु नेपाल आर्मीमा आबद्ध खेलाडी हुनुहुन्छ भने शेरचन पोखराका खेलाडी हुनुहुन्छ । एसियाली खेलकुदको सेमिफाइनलमा पुग्ने देश नै ओलम्पिकमा सहभागी हुने हुँदा आफूहरूले सेमिफाइनलको यात्रासम्म पुग्ने लक्ष्य राखेको उहाँहरुले बताउनुभयो ।

प्रशिक्षक वसन्त थकालीले पोखरामा बढी पानी पर्ने भएकोले प्रशिक्षणको समय तालिकामा असर पारे पनि प्रशिक्षणमा आफूहरूले कुनै कमी नगरेको दाबी गर्नु भयो । यसपाली उत्कृष्ट खेल प्रदर्शन गर्ने गरी पोखरामै करिब डेढ महिना जसो प्रशिक्षण गरिएको उहाँले बताउनु भयो । २० जना खेलाडीहरूबाट १६ जना हुँदै चार चरणबाट चार जना मात्र खेलाडी छनौट भएको प्रशिक्षक थकालीले बताउनुभयो ।

ताजा समाचार

Related Articles