अमेरिकी डलर देखाएर ठगी गर्ने पक्राउ

लोकप्रिय

बनेपा, साउन १० गते । अमेरिकी डलर भनी सर्वसाधारणलाई झुक्याएर नेपाली रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई नेपाली रकम ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ बस्ने २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सर्वसाधारणलाई अमेरिकी डलर देखाई विभिन्न व्यक्तिबाट लाखौँ रुपियाँ ठगी गर्ने समूहका चार जनाको पहिचान भएको छ। तीमध्ये सुनिललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। उहाँका अनुसार सुनिलसहितको समूहले विभिन्न फोन नम्बरबाट फोन गरी आर्थिक प्रलोभन देखाई ठगी गर्दै आएको थियो। योजनाबद्ध तरिकाले सङ्गठित रूपमा ठगी गरेकाले उनीहरूविरुद्ध ‘ठगी तथा सङ्गठित अपराध’ मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

उक्त समूहले गत चैत २४ गते बनेपा नगरपालिका–३ नगरकोटको जङ्गलमा ५० अमेरिकी डलरको नोट देखाई रुमालको पोको दिएर पाँच लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। यस्तै असार ५ गते बनेपा–३ शशिपानीस्थित जङ्गलमा २३ लाख रुपियाँ र असार ६ गते बनेपा–१ रानीकोटस्थित जङ्गलमा २० लाख रुपियाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो। पक्राउ परेका सुनिलको साथबाट घटनामा प्रयोग भएको कपडा, पेपर काट्ने ब्लेड, काटिएको कापी, बा.प्र. ०२–०६३ प ८१९० नम्बरको स्कुटर, तीन थान मोबाइल, सिमकार्ड र नगद २३ हजार रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles