खासकुरा संवाददाता
हेटौँडा, साउन ९ गते । बिपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ६ शितलपाटी सडक खण्डमा योद्धा पिकप दुर्घटनामा परी मकवानपुरको मनहरीका एकको मृत्यु र गाडी चालक घाइते भएका छन् ।
काठमाडौँबाट बर्दिबासका लागि गाई लोड गरेर जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको उक्त गाडी शुक्रबार बिहान सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ४ का धर्मराज रेग्मीको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय मनहरीले जनाएको छ । दुर्घटनामा मृतकका भाई सवारी चालक ३२ वर्षीय निरज रेग्मी घाइते हुनुभएको छ ।
योद्धा पिकप दुर्घटना भएको खबरपछि इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी विपद व्यवस्थापन बेस खुर्कोटको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सडकदेखि करिब तीन सय मिटर तल ३२ वर्षीय निरजलाई शरीरका विभिन्न भागमा चोट लागेको र चार सय मिटर तल ३८ वर्षीय धर्मराजलाई घाइते अवस्थामा फेला पारी उपचारका लागि आत्मिय सामुदायिक अस्पताल पठाइएको थियो ।
उक्त गाडी खोजतलास गर्दै जाने क्रममा बिहान २ः२० बजेको समयमा सडकबाट करिब पाँच सय मिटर तल खोचमा पूर्ण रुपमा क्षति भएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
योद्धा पिकप चालक निरजलाई थप उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ । धर्मराजलाई बिहान ३ः२० बजेको समयमा सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा लगेर जाँच गराउँदा उक्त अस्पतालको चिकित्सकले ३ः४५ बजेको समयमा मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै निजको शव परीक्षणका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाईएको छ ।
प्रहरीका अनुसार दुर्घटना स्थल वरपर खोज तलासको क्रममा चार वटा जर्सी गाई भेटिएकोमध्ये दुई वटा गाई घाईते र दुई वटा गाई घटनास्थलमा मृत फेला परेको छ ।




