खासकुरा संवाददाता
हेटौँडा, साउन १४ गते । नेकपा (एमाले) बागमती प्रदेश सभा संसदीय दलले सत्ता साझेदार नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा एमाले मन्त्रीहरुको संलग्नता रहेको भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाएको छ ।
काँग्रेस संसदीय दलको समीकरणमा परिवर्तन ल्याउने प्रक्रियामा एमालेका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको संलग्नता रहेको भन्ने आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य रहेको भन्दै त्यसको खण्डन गरेको छ ।
एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले उक्त कार्यमा एमाले मन्त्रीहरुको संलग्नता रहेको भन्दै भ्रामक प्रचार गरिएको देखिएको जनाएको हो । एमालेका मुख्य सचेतक मधुसूदन पौडेलले उक्त विषयमा छलफल भएको बताउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । एमाले मन्त्रीहरु जोजसको संलग्न छ भनेर प्रचार गरिएको छ उहाँहरुले आफूहरु संलग्न नभएको स्पष्टिकरण दिएको पौडेलको भनाई छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा केही माध्यम वा व्यक्तिहरूबाट नेपाली काँग्रेस संसदीय दलको समीकरणमा परिवर्तन ल्याउने प्रक्रियामा नेकपा (एमाले)का तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको संलग्नता रहेको भन्ने भ्रामक प्रचार गरिएको देखिएको छ। बैठकले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य रहेको खण्डन गरेको छ ।’
‘नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले जिम्मेवार र लोकतान्त्रिक विपक्ष तथा सहकार्यकर्ता दलको हैसियतले राजनीतिक स्थायित्व, सुशासन, तथा जनहितका पक्षमा अग्रसर रहँदै अघि बढ्ने पुनः प्रतिबद्धता प्रकट गर्दछ’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका एक प्रदेश सभा सदस्यले सामाजिक सञ्जाल फेसबुकमा एमालेबाट मन्त्री भएकाहरुको नाम नै उल्लेख गर्दै कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा प्रभाव पार्ने र हस्तक्षेप गर्ने कार्य गरेको आरोप लगाउँदै लेखेका छन् ।
एमाले संसदीय दलको बैठकले काँग्रेस संसदीय दलको निर्णयलाई मान्यता दिने निर्णय गरेको छ ।
संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा बुधवार हेटौँडामा बसेको बैठकले काँग्रेस पार्टीसँग सहकार्य भएकाले संस्थागत निर्णयलाई मान्यता दिने निर्णय गरेको हो ।

बैठकले एमालेले पछिल्लो राजनीतिक घटनाक्रम, दलगत समीकरण तथा बागमती प्रदेश सरकारको स्थायित्वबारे विभिन्न निर्णय गरेको छ ।
त्यस्तै बैठकले हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको नवौँ बैठकमा भएका निर्णयहरूलाई पूर्ण समर्थन गर्दै ती निर्णयहरूको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । सङ्गठनात्मक अनुशासन, विचारको स्पष्टता र रणनीतिक एकतामा जोड दिँदै अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले कृषिको मुख्य सिजनमा बजारमा देखिएको रासायनिक मलको अभावलाई गम्भीर रूपमा लिँदै सङ्घीय सरकारसँग तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले एमाले बागमती प्रदेश संसदीय दलले लोकतान्त्रिक मूल्य, स्थायित्व, सुशासन र जनताको हितमा अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।




