मुख्यमन्त्री लामाले राजीनामा दिनुपर्छः बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १४ गते । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहादुर सिंह लामा तामाङ अब संसदीय दलको नेता नरहेकोले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
संसदीय दलको नेतामा निर्वाचित भएसँगै बुधबार हेटौँडामा पत्रकारसँग कुरा गर्दै संसदीय दलको नेता नरहेकाले लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, राजीनामा नदिए मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गरिने छ ।
लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बानियाँको भनाई छ ।
लोकतन्त्रमा दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धा र दलहरूबीचको बाह्य प्रतिस्पर्धा हुने भन्दै उहाँले लोकतान्त्रिक प्रणालीमा जब कुनै दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्दैनन्, तब पार्टी कमजोर नहोस् भन्ने सोचले नेतृत्व परिवर्तनको आवश्यकपर्ने उहाँको जिकिर छ ।
उहाँले भन्नुभयो, हाम्रो प्रजातान्त्रिक, गणतान्त्रिक, संघीय र समावेशी प्रणालीको विशेषता नै यही हो ।
उहाँले अगाडि भन्नुभयो, यो प्रतिस्पर्धामा कसैको जित वा हार होइन, केवल जिम्मेवारीको अदल–बदल मात्रै हो। हिजो अर्काे साथीको काँधमा जिम्मेवारी थियो, आज अर्को साथीको काँधमा आएको छ। फरक यत्ति मात्रै हो।
बहादुर सिंह लामा कांग्रेसको संसदीय दलको नेताका हैसियतले दुई दलबीच गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएको र अहिले उहाँ दलको नेताको हैसियत गुमाइसक्नुभएकोले
पार्टी विधान अनुसार उहाँको हैसियत समाप्त भइसकेकोले अब उहाँले त्यसअनुसार निर्णय गर्नुपर्ने बानियाँले बताउनुभयो ।
राजनीति भनेको नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र जनताको भावना बुझ्नसक्ने अभ्यास भएको भन्दै उहाँले ती कुराहरूको सम्मान भएन भने त्यो लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण पत्रकारको प्रश्नमा बताउनुभयो ।
मुख्यमन्त्री लामाले मार्गप्रशस्त गरिदिनुभयो भने सबै कुरा सहज ढंगले अगाडि बढ्छ, यदि उहाँले नमानेमा पनि लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर उहाँलाई बिदा गरिन्छ बानियाँले भन्नुभयो ।

ताजा समाचार

Related Articles