मिलिजुली सरकारमा मुख्यमन्त्री बन्न दलको नेता हुनु आवश्यक छैनः मुख्यमन्त्री लामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १४ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले पदबाट राजीनामा दिन आवश्यक नरहेको बताउनुभएको छ ।
लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको भन्दै राजीनामा नदिने स्पष्ट पार्नुभयो ।
संसदीय दलको नेता पदको लागि बुधबार भएको निर्वाचनमा पराजित भएपछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै उहाँले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको बताउनुभएको हो ।
संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने उहाँले भन्नुभयो, ‘मैले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’
उहाँले आफू संविधानअनुसार चल्ने र संविधानले जे व्यवस्था गरेको छ, त्यसैअनुसार अघि बढ्ने बताउनुभयो ।
उहाँले यो सरकार संविधानको धारा १६८(२) अनुसार बनेको सरकार भएकोले त्यसअनुसार सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने छैन भन्नुभयो ।
यो सरकारविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन मिल्दैन उहाँले अगाडि भन्नुभयो, संविधानले स्थिर सरकारको व्यवस्था र कल्पना गरेको छ । एक पटक अविश्वास प्रस्ताव दर्ता गरेपछि अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने व्यवस्था छ। त्यसैले संविधानले स्थिर सरकारको लागि व्यवस्था गरेको हो, जुन सबैले पालना गर्नुपर्छ।
उहाँले एक दलको मात्र बहुमतको सरकार बनाइन्छ त्यहाँ दलको नेता हुनुपर्ने भन्दै अहिलेको सरकार १६८(२) अनुसार, अर्थात् मिलिजुली (कोअलिशन) सरकार भएकोले प्रक्रिया अघि बढेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले संविधानमा जे लेखिएको छ, त्यो सबैभन्दा महत्वपूर्ण हुने जिकिर गर्दै दलहरूको निर्णयभन्दा माथि संविधान हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, हामी सबैले संविधान हेर्नुपर्छ, व्याख्या गर्न, कानुनी प्रक्रिया छ, वकिल छन्, मेरो व्यक्तिगत निर्णयमा मात्र निर्भर हुँदैन ।

ताजा समाचार

Related Articles