खासकुरा संवाददाता
हेटौँडा, साउन १५ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसस्थित वन्यजन्तु सङ्ग्रहालय परिसरमा वृक्षरोपण गरेर विश्व रेन्जर दिवस मनाइएको छ ।
वन प्राविधिक संघ बागमती प्रदेश, फरेष्ट टेक्निसियन्स अफ नेपाल र जुनियर वन प्राविधिक संघ नेपालको संयुक्त आयोजनामा बिहीबार वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले नेपाली रेन्जरको योगदानको सम्मान गर्दै सङ्ग्रहालय परिसरमा रेन्जर पार्क र स्तम्भ निर्माण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्याम्पससँग सहकार्य गरेर काम गर्न तयार रहेको भन्दै क्याम्पसको शौचालयलगायतका संरचनाहरु मर्मतमा सहयोग गर्ने बताउनुभयो ।
बागमती प्रदेशको प्रदेश वन निर्देशनालय, हेटौँडाका निर्देशक विद्यानाथ झाले रेन्जर आवद्ध विभिन्न संस्थाहरुलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश वन प्राविधिक संघका अध्यक्ष उत्तम चापागाईँ अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा वनकेरा, आँप, राजवृक्ष, चिउरी, एभोकाडो, दार, कटहर, बेल, विजयसाल निम, अमला, जामुन, सिम्रिक, सीता अशोक, अश्वगन्धा, पारिजात, धुपी, ओखरलगायतका विभिन्न प्रजातिका एक सय वटा विरुवा रोपिएको छ ।
अन्तर्राष्ट्रिय रेन्जर महासंघको पहलमा सन् २००७ देखि प्रत्येक वर्ष ३१ जुलाईमा विश्व रेञ्जर दिवस र नेपालमा सन् २०१८ बाट यो दिवस विविध कार्यक्रमका साथ मनाउन थालिएको हो ।




