काठमाडौं, साउन २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो ।

यसैबिच राष्ट्रपति पौडेलले जनैपूणिर्मा, ऋषितर्पणी एवम् रक्षावन्धनको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज एक शुभकामना सन्देश दिनुहुँदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
जनैपूणिर्मा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उहाँले विभिन्न जातजाति,भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाईने यसप्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।




