हेटौँडा, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका वडा नं. १ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै मकवानपुरगढीसँगै बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका बासिन्दालाई आवागमनमा सहजभएको छ ।
गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम सम्पन्नभएकोमा अहिले बेलिब्रिज जडान कार्य सम्पन्न गरी सञ्चालन ल्याइएको जानकारी दिनुभयो ।
उहाँले तीन वर्षअघि ३५ लाख रुपियाँको लागतमा पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम भएकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुरगढी गाउँपालिकाबाट विनियोजित २० लाख रुपियाँको लागतमा बेलिब्रिज ल्याउने, जडान, रङ्गरोगनलगायतका कार्य भएको बताउनुभयो ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत बेलिब्रिज उपलब्ध भएकोमा बेलिब्रिजका लागि नपुग फलाम खरिदसँगै रङ्गरोगन, जडान, पहुँच मार्ग निर्माणलगायतका कार्य गरी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।
उहाँले भन्नुभयो, बेलिब्रिज निर्माणपछि मकवानपुरगढी गाउँपालिका वडा नं. १ का बासिन्दासँगै बकैया गाउँपालिकाको वडा नं. ४ र ११ का बासिन्दालाई आवतजावत र हेटौँडा उपमहानगरपालिका १८ नं. का बासिन्दालाई घाँसदाउरालगायत आवतजावत गर्न सहजभएको छ ।
पुलको अभावमा विद्यार्थीलाई अध्ययन गर्न जान, स्थानीयलाई गाउँघरमा उत्पादित कृषिजन्य वस्तु बजार पु¥याउन, बजार आउजाउलगायतमा समस्यासँगै वर्षाको समयमा ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता थियो ।
१४ मेट्रिक टन मात्र भार बहन क्षमता रहेको उक्त बेलिब्रिजबाट मकवानपुरगढीसँगै आसपासका पाँच हजारभन्दा बढी नागरिक लाभान्वित हुने छन्, उहाँले भन्नुभयो ।
बेलिब्रिज निर्माणपछि वर्षायाममा आवतजावतका लागि सहजभएको छ, वडाध्यक्ष लोले भन्नुभयो, बेलिब्रिजको पहुँच मार्ग सुधार, बेलिब्रिज र सडकको सुरक्षाका लागि मेसिनरी वाल, तारजालीलगायतका कार्य गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ विनियोजन गरेको छ ।




