पोखरा, साउन २६ गते । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामेबार कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको बताउनुभयो ।

पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उहाँको छ ।
“गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्ने छ। यसले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्थाबिचको आपसी विश्वासलाई मजबुत पार्ने छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता र पेसागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराउने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्त्वपूर्ण बन्ने बताउनुभयो । प्रदेश सरकारले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोत साधनका माध्यमबाट सहयोग गर्ने भनाइ उहाँको छ ।

कार्यक्रममा प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले अनलाइन पत्रिकाको दर्ता र नवीकरणको विषय प्रेस रजिष्ट्रार कार्यालयबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्दा प्रदेशभर आमसञ्चार क्षेत्रको समृद्धि, पारदर्शिता र गुणस्तरमा वृद्धि हुने विश्वास उनको छ । अनलाइन मिडियाको दिगो विकासमा जोड दिने विषयमा आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी र सरोकारवालाहरूले कार्यालयको स्थापना गण्डकी प्रदेशको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ पाटो भएको बताएका थिए ।




