मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
विश्वासको मत लिने प्रयोजनाका लागि प्रदेश सभाको दिउँसो ४ः०० बजे बैठक बस्ने गरी प्रदेश सभाका सभामुखले समय निर्धारण गर्नुभएको छ ।
बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने र दलले तोकेका प्रदेश सभा सदस्यले बोल्ने कार्य सूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ यही साउन २० गते नेकपा एमालेका समर्थनमा मुख्यमन्त्री बन्नुभएका हो । मुख्यमन्त्रीमा नियुक्त भएकोे ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ प्रदेश सभा सदस्य सांसद छन्। बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ ।
विश्वासको मत दिन कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् । उता निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ पक्ष मन्त्रीमण्डल गठनलाई लिएर असन्तुष्ट रहेका छन् । लामा पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको सहमति अनुसार यसअघि मन्त्रीमा नियुक्त भएर सपथग्रहण रोकेमा तीनजनालाई नयाँ मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने अडान राख्दै आएको छ ।
प्रदेश प्रमुखले मन्त्रीमा नियुक्ति गरेर यसअघि गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको थिएन । सपथ ग्रहण रोकका तीनै जनलाई नयाँ मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने निवर्तमान मुख्यमन्त्री लामा पक्षको भनाई छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सदस्य रहेका छन् ।

ताजा समाचार

Related Articles