काठमाडौँ, साउन २८ गते । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखसहित मंगलबार सम्मान गरेको छ ।
खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो ।
उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताउनुभयो ।
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जित्नुभएको थियो । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताउनुभयो ।

त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो ।
महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो ।
रवीन्द्र ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गर्नुभएको थियो । यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।
यो कुनै पनि टिम खेलमा नेपालले विश्वकप फाइनल खेलेको पहिलो अवसर हो ।




