काठमाडौँ, साउन २९ गते । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिनुभएको हो । जसअनुसार कार, भ्यानहरूका लागि काठमाडौँ आउँदा ६५ रुपैयाँ र काठमाडौँबाट जाँदा ६० रुपैयाँ तोकिएको छ । यसैगरी, मिनिबस, मिनी ट्रकको काठमाडौँ आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ ।

बस र ट्रकको हकमा काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ लाग्नेछ । यस्तै, गह्रौँ सवारी साधनको काठमाडौँ आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ सुरुङ मार्ग उपभोग दस्तुर तोकिएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय कृत्रिम बौद्धिकता एआई नीति २०८२ स्वीकृत गर्नुकासाथै सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेशसमेत जारी गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो ।




