हेटौँडा, भदौ २ गते । नेपाल प्रेस युनियन मकवानपुर जिल्ला शाखाले सय दिने सदस्यता विशेष अभियान सुरु गरेको छ ।
युनियनको एक सय दिने सदस्यता विशेष अभियान सोमबार हेटौँडामा अभियानको आवश्यकताका बारेमा चर्चा गर्दै शुभारम्भ गरिएको छ ।
सो अवसरमा युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई चार थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको थियो ।
प्रेस युनियन मकवानपुरका उपाध्यक्ष एवं अभियानका संयोजक कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पत्रकारको पेशा चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहालले युनियनको अभियानका बारेमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघसंस्था र संगठनलाई गरिने सहयोगले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु, महासंघ बागमतीका पूर्व अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, रामकुमार एलन, ध्रुब अधिकारी, गिरिजा अधिकारी, निसा गुरुङलगायतले बोल्नुभएको थियो ।
