हेटौँडा, भदौ २ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सुन्दरढोका व्युटिपार्लर सञ्चालनमा आएको छ । शारीरिक अपाङ्गता भएका कैलाश ६ की अञ्जु परियार र कैलाश ५ की सरितामाया थिङले पार्लर सञ्चालनमा ल्याउनुभएको हो । अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको सुन्दरढोका साथीसेवा संस्थाको सहयोगमा तालिमपछि संस्थाकै लगानीमा पार्लर सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पार्लर उद्घाटन गर्दै शारिरीक अपाङ्गता भएर पनि व्युटिपार्लरको कोर्स पूरा गरेर आफ्नो सीप प्रदर्शन गर्न सुरु गरिएको व्यवसायलाई सुन्दरढोकाले सहयोग गरेको र आगामी दिनमा गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
व्यवसायलाई दर्ता गर्नुस्, आफ्नो सीपलाई प्रयोग गरी आर्थिक पक्ष पनि बलियो बनाउन अध्यक्ष मुक्तानले आग्रह गर्दै गाउँपालिकाले कम्प्युटर, सिलाई, ह्याण्डीक्राफ्ट, विभिन्न परिकारको तालिम प्रदान गरिनुका साथै आगामी वर्ष पनि लक्षित वर्ग र क्षेत्रलाई तालिम कार्यक्रमको योजना रहेको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले शारिरीक रुपमा कमजोर भएपनि सीप र काममा कमजोर छैनौं भन्ने मान्यता स्थापित गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सुन्दरढोका साथीसेवाका कार्यकारी निर्देशक विजेता अधिकारीले अञ्जु र सरिताले काठमाडौँमा छ महिनाको एडभान्स कोर्स पुरा गरेको बताउनुभयो ।
छ महिने तालिम पश्चात अहिले तत्काल दुई लाख ५० हजार रुपियाँ लगानीमा यो सुरुवात गरिदिएका निर्देशक अधिकारीले जानकारी दिनुभयो । तीन वर्ष परियोजना अवधिमा हामीले बाख्रापालनमा सहयोग ४९ जना, साना किराना पसल सञ्चालन सहयोग सात जना, कुखुरापालन सहयोग छ जना, कृषि हाते ट्याक्टर सहयोग दुई जना, कुटानी पिसानी मिल एक जना, भैंसी पाडापालन तीन जनालाई सहयोग गरिएको उहाँले बताउनुभयो । बाँसको मुढा बनाउने तालिम तीन जना, व्युटी पार्लर दुई जना, शैलुन तालिम, प्लाष्टिक टनेल र सिलाइ तालिम एक—एक जनालाई, सुधार गृह पुनस्र्थापना सहयोग दुई जना, स्वास्थ्य उपचार ३७ जना गरी ११७ जना अपाङ्गगता भएका व्यक्ति कार्यक्रमबाट लाभान्वित भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलान, ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, सिडिपिएनका कार्यक्रम संयोजक हरिबहादुर भण्डारीलगायतको आतिथ्यता रहेको थियो । पार्लरमा पार्लरसम्बन्धी सम्पूर्ण कार्य गरिनुका साथै मेकअप, फेसियल, थ्रेडिङ, हेयर कट, हेयर स्ट्रेट, हेयर स्पा, वाक्सिङ गरिने सञ्चालक अञ्जु परियारले जानकारी दिनुभयो ।
