मुख्यमन्त्री बानियाँद्वारा मनहरीकी मिठुमायाको घर बनाउन सहयोग

लोकप्रिय

हेटौँडा, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका –९ कि एक विपन्न दलित एकल महिलाको घर निर्माण गरिदिने हुनुभएको छ । मनहरी–९ कि मिठुमाया सुनारको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँले सोमबार मनहरी गाउँपालिकामार्फत दुई लाख रुपियाँको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई चेक हस्तान्तरण गर्नुभयो ।
मिठुमाया सुनारको श्रीमान्को पाँच वर्षअघि नै मृत्यु भएको, छोरा संगम सुनारसमेत अपाङ्ग रहेको र पुरानो घर बनाउन नसक्दा समस्यामा रहेको स्थानीय समाजसेवीको सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेको थियो । मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्नको घर बनाइदिने यसअघि नै घोषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गर्नुभएको हो ।
वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाको घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुरोध गरेका थिए । सोमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी–९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलियालगायतको उपस्थितिमा दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मनहरीका समाजसेवी प्रकाश वर्ताैला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
सो रकमबाट मिठुमायाको दुई कोठा, एउटा भान्छासहित शौचालय निर्माण गर्ने योजना बनाइएको छ ।

ताजा समाचार

Related Articles