सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँको सहयोग

लोकप्रिय

हेटौँडा, भदौ ११ गते । घरको अभाव झेल्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजाका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सहयोगमा घर बन्नेभएको छ ।
प्रजाले मुख्यमन्त्री बानियाँको सहयोगमा दशैँ अगावै नयाँ घर पाउनु हुनेभएको हो ।
प्रजा झुप्रो घरमा सुत्केरी श्रीमतीसहित बस्दै आएको र खाद्यान्न अभाव रहेको भएको भन्दै यसअघि गाउँपालिका कार्यालय पुगेपछि गाउँपालिकाले प्रजालाई खाद्यान्न र लत्ता कपडा सहयोग गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्ल र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका समिति सभापति वीरेन्द्र जिम्बालगायतको आग्रहमा मुख्यमन्त्री बानियाँले सुमनसिंको घर व्यक्तिगत खर्चमा बनाइदिने हुनुभएको हो ।
बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुग्नुभएका गाउँपालिका अध्यक्ष मल्लले दशैँअघि नै घर तयार गरी हस्तान्तरण गर्ने गरी काम सुरु गर्ने बारेमा मुख्यमन्त्री बानियाँसँग छलफलभएको जानकारी दिनुभयो ।
बानियाँले आफ्नो तलब सुविधा वापत प्राप्त हुने रकमबाट आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवार पहिचान गरी घर बनाइदिने यसअघि बताउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार दुई वटा कोठा, भान्छाकोठा र शौचालयसहित निर्माण गरी प्रजालाई हस्तान्तरण गरिने छ ।
मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका ९ की दलित एकल मिठुमाया सुनारको घर निर्माण गर्न यसअघि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई पहिलो किस्ताबापत दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles