हेटौँडा, भदौ ११ गते । बागमती प्रदेशमा सवारी साधन दुर्घट्ना बढेसँगै दुर्घटना न्यूनीकरणका लागि नयाँ अभियान थालिने भएको छ ।
बागमती प्रदेश सरकारले दुर्घटना न्यूनीकरण गर्न भन्दै प्रदेशभर नो हेल्मेट, नो फ्युल अभियान थाल्नेभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सवारी दुर्घट्ना न्यूनिकरण तथा ट्राफिक सचेतता अभिवृद्धिका लागि भएको छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बढ्दो सवारी दुर्घट्ना न्यूनीकरण गर्न समन्वयात्मक र प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सवारी दुर्घट्ना न्यूनिकरण तथा ट्राफिक सचेतता अभिवृद्धिका लागि भएको छलफलमा मुख्यमन्त्री बानियाँले सुरक्षा निकाय र सम्बन्धित सरोकारवालास निकायलाई यस्तो निर्देशन दिनुभएको हो ।
इन्धनका लागि हेल्मेट अनिवार्य गर्ने ( नो हेल्मेट, नो फ्युल) अभियान कार्यान्वयन गर्न र उक्त अभियानको निगरानी गर्न, गराउन जिल्ला प्रशासन कार्यालयहरु र सुरक्षा निकायहरुलाई जिम्मेवार बनाउने गरी मुख्यमन्त्री बानियाँले निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री बानियाँले सवारी दुर्घट्ना न्यूनीकरणको लागि सम्बद्ध सबै निकायलाई समन्वय गरेर परिचालित भई प्रभावकारी रुपमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलगायतका निर्देशन दिनुभयो ।
बागमती प्रदेशभित्र बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन परीक्षणलाई नियमित र प्रभावकारी बनाउने र दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताले हेल्मेट अनिवार्य रुपमा प्रयोग गर्ने कानूनी व्यवस्थालाई कडाईका साथ पालना गर्न, गराउन छलफलका क्रममा दिइएको निर्देशन थियो ।
यस्तै हेल्मेट नलगाई इन्धन लिन आएमा त्यस्तो सवारीलाई इन्धन नदिने अर्थात् इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न गराउन अनुरोध गरी नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन, बागमती प्रदेशमा पत्राचार गर्ने गरी मुख्यमन्त्रीबाट निर्देशन भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयको कार्यालयका अनुसार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन, बागमती प्रदेशले सम्बन्धित निकायहरुसँग समन्वय गरी पेट्रोल पम्पहरुमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान यकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाउने छ ।
छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रकुमार भारती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, प्रदेश सशस्त्र प्रहरी कार्यालयका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोशियनका प्रदेश अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका तर्फबाट बागमती प्रदेशभित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरु बारेमा प्रस्तुतीकरण गरिएको थियो ।




