कैलाशमा १६ जना क्षयरोगका बिरामी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १३ गते । मकवानपुरको कैलाश गाउँपालिकामा १६ जना क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेको पाइएको छ । क्षयरोग सम्बन्धी बिहीबार भएको वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आव २०८१/०८२ मा कैलाशका विभिन्न वडामा १६ जना क्षयरोगका विरामी रहेको र उनीहरुले स्वास्थ्य संस्थाबाट नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताउनुभयो ।
कैलाशको वडा नम्बर ३ मा नौ जना, वडा नम्बर ८ मा दुई जना वडा ९ मा चार जना र वडा ५ मा एक जना गरी १६ जनामा क्षयरोग बिरामी रहेका छन् गौतमले भन्नुभयो, उनीहरुले उपचार र औषधि सेवन गरिरहेका छन्, थप परीक्षण गर्नुपर्छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकामा रहेका दुई वटै ल्यावलाई प्रयोग गर्दै क्षयरोग परीक्षणलाई वृद्धि गर्नुपर्ने भन्दै संक्रमित बिरामीको औषधि सेवनमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह र क्षयरोग परीक्षणको शिविर सञ्चालनको तयारी गर्न निर्देशन दिनुभयो । राज्यको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको मुख्य सूचक हो अध्यक्ष मुक्तानले भन्नुभयो, यसलाई ध्यानमा राखेर काम गरिनुपर्छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलले तथ्याङ्कीय रुपमा वडातहका स्वास्थ्य चौकी कमजोरी रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्दै बिरामीको उपचारमा लगाव राख्दै नागरिकलाई दिने सेवामा कमी आउन नदिन निर्देशन दिनुभयो । क्षयरोगको परीक्षण कम भएकाले वृद्धि गर्नुपर्ने उहाँको भनाई छ ।
लाजका कारण क्षयरोग परीक्षणका लागि सम्भावित बिरामी नआउने गरेको प्रमुख गौतमले सुनाउँदै बिरामी स्वास्थ्य संस्थामा नआउनु र अन्य स्थानमा परीक्षण गरेता पनि संस्था संस्थामा रिर्पोट नहुनले लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन समस्या रहेको बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि कान्ज्य कुमार चौधरी, सुजन थापा, पालिकाभित्रका स्वास्थ्य चौकीका ईन्चार्जलगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles