खासकुरा संवाददाता
हेटौँडा, भदौ १३ गते । मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित ईच्छाकामना गणेश मन्दिरको शतवार्षिकोत्सवका अवसरमा ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिनेभएको छ । गणेश मन्दिर स्थापनाको सय वर्ष पुगेको अवसरमा शनिबार एक कार्यक्रमका बिच ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिनेभएको हो ।
भीमफेदी बजारका समाजसेवी लालधर श्रेष्ठले गणेश मन्दिर वि.सं.१९८२ सालमा स्थापना गर्नुभएको थियो । लालधर फाउण्डेशनले मन्दिर स्थापनाको एक सय वर्ष पुगेको अवसरमा पूजाआजासहित ३० जना ज्येष्ठ नागरिकलाई उहाँहरुले समाजमा पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै अभिनन्दन गर्न लागेको फाउण्डेसनका विजयलाल श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार बिहान एक्काहा महाभागवत पुराण र पूजा सम्पन्न गरी ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिने भएको हो ।
हाल उक्त ईच्छाकामना गणेश मन्दिर भीमफेदी बजारको बिच भागमा अवस्थित छ । मन्दिर जीर्ण भएपछि स्थानीय समाजसेवी राजेस दास अमात्यको अध्यक्षतामा मन्दिर जीर्णोद्धार समिति गठन गरिएको छ ।
मन्दिर जीर्णोद्धार समितिले गाउँपालिकाबाट गत आर्थिक वर्ष १०८१/०८२ मा दुई लाख रुपियाँ अनुदान र दाताहरुबाट तीन लाख १७ हजार १२६ रुपियाँ सहयोग संकलन गरी मन्दिर जीर्णोद्धारको कार्य सुरु गरेको थियो । मन्दिरको संरक्षण र जीर्णोद्धार निरन्तर हुने र चार हजार ९९९ रुपियाँभन्दा माथि सहयोग प्रदान गर्ने दाताको नाम शिलालेखमा उल्लेख गरिने बताइएको छ । सहयोग संकलन यही भदौ २१ गतेसम्म जारी रहने र भदौ २२ गते गणेशजात्रा पर्वमा दातालाई सम्मान तथा प्रसंशापत्र वितरण गर्ने कार्यक्रम रहेको मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष अमात्यले बताउनुभयो ।




