हेटौँडा, भदौ १३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवका अवसरमा खेलकुद क्षेत्रमा स्थानीय तहहरुमध्ये देशभरमै उत्कृष्ट कार्य गरेवापत मकवानपुरको बागमती गाउँपालिकालाई सम्मान गरिएको छ ।
खेलकुद क्षत्रको विकास र विस्तारमा बागमती गाउँपालिकाले उदाहरणीय कार्य गरेको भन्दै काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा संघीय युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपमा सदस्य सचिव टंकलाल घिसिङलगायतले बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई सम्मापत्र प्रदान गर्नुभयो ।
राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वधार निर्माण, खेलाडी उत्पादन र प्रोत्साहनलगायतको विभिन्न प्रतियोगिताको नतिजाहरुको मूल्यांकन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेकोको छ।
राखेपले आफनो वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिएको छ। सम्मान कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष रहर सिं थिङ, निवर्तमान अध्यक्ष अरुण बललगायतको उपस्थिति रहेको थियो ।




